खोरमा नयाँ चल्ला ल्याउन अगाडी र ल्याउने वित्तिकै गर्नुपर्ने काम

-February 23, 2020

चल्लाको स्वास्थ्य धेरै हदसम्म खोरको सरसफाई र स्वच्छतामा निर्भर हुन्छ । ह्याचरीबाट भर्खरै मात्र खोरमा ल्याइएको चल्लाको रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ । यस्तो अवस्थामा किटाणुसँग सम्पर्कमा आउनसाथ रोग लाग्ने जोखिम उच्च रहन्छ । अघिल्लो लटको वयस्क कुखुराले खोरमा अनेक संक्रमणका किटाणुहरु छोडेर गएका हुन्छन । तसर्थ खोरमा एक लट कुखुरा पलिसकेर नयाँ लट पाल्ने तयारि गर्दै गर्दा खोरको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । यसरी एकै खोरमा एक लट कुखुरा पलिसकेर नयाँ लट पाल्ने तयारि गर्दै गर्दा गरिने खोरको विशेष प्रकारको सरसफाईलाई कम्प्लिट हाउस क्लिन आउट (Complete house clean out) भनिन्छ । नयाँ चल्ला ल्याउन अगाडी र ल्याउने वित्तिकै निम्न अनुसारको काम गर्नुपर्छ ।

कम्प्लिट हाउस क्लिन आउट 

कम्प्लिट हाउस क्लिन आउट प्रकृयाको केहि महत्वपूर्ण चरणहरु निम्न अनुसार छन : Dry cleaning, Wet cleaning, Heat treatment, Chemical treatment, White wash र Terminal disinfection.

  1. खोरमा भएको भाँडाकुँडा, फिडर, ड्रीङ्कर, पर्दा लगायतका सबै सरसामाग्री हटाउने । इक्युपमेन्टका पाठपुर्जा खोल्ने । हटाइएको भाँडाकुँडालाई पहिला पानीको फोहोराको सहायताले ब्रसले घोट्दै सफा गर्ने । त्यसपछि सर्फ पानीले सफाई गर्ने र घाममा सुकाउने । खोरमा पुन जडान गर्न अगाडी एकपल्ट फर्मालिन वा अन्य कुनै निसंक्रमण झोल छर्केर मात्र पुनः जडान गर्ने ।
  2. पुरानो सोत्तर, माकुराको जालो, पोखिएका भुस तथा दाना लगायतका सबै अर्गानिक फोहोर हटाई खोरबाट टाढा लागि राख्ने वा मलको रुपमा प्रयोग गर्ने । हटाउन अगाडी अर्गानिक फोहोरलाई ५ देखि १० प्रतिशत फर्मालिनले छिट्दा उपयुक्त हुन्छ ।
  3. पानीको प्रयोग नगरी पहिला झाडु वा कुचोले खोरको सफाई गर्ने । भुईमा टासिएको फोहोरलाई हटाउन ब्रसले वा अन्य कुनै उपयुक्त धातुले घोटेर वा खुर्केर हटाउने । यो विधिलाई ड्राई—क्लिनिङ्ग (Dry cleaning) भनिन्छ ।
  4. खोरमा भएका टुटफुट तथा बिग्रेको—भत्केको कुराको पुनःनिर्माण गर्ने । चर तथा प्वाललाई बन्द गर्ने ताकि मुसा, चरा आदी पस्न नसकोस ।
  5. ५ देखि १० प्रतिशत सोडियम हाइपोक्लोराईटको झोल पानि पाईप तथा ड्रममा रातभरी रहने गरि राख्ने र भोलिपल्ट सफा पानी प्रयोग गरेर फ्लस गर्ने । अथवा १ लिटर हाईड्रोजन परोकसाईड (५०%) १० लिटर पानिको दरले पनि प्रयोग गर्न सकिन्छ । पानिको पाईप लाईनको प्रभावकारी सफाईको लागि बजारमा पाराएसिटिक एसिड, एसिटिक एसिड, हाइड्रोजन परोक्साइड, सल्फुरिक एसिड र स्टेबलाईजर जस्ता रसायनहरूको मिश्रण भएको सुपेरोक्स (Superox), सीआईडि २००० (CID 2000), एक्वाम्याक्स (Aquamax) र एक्वाक्वाट सुपर (Aquaquat Super) जस्ता औसधि उपलब्ध छन । 
  6. सादा पानीको फोहोराले क्रमश खोरको सिलिङ्ग, भित्ता र भुई सफा गर्ने । हाई प्रेसर वासरको प्रयोग गर्ने । भुई सफा गर्दा रातभरि पानीले भिजाउने र भोलिपल्ट सफा गर्ने । त्यसपछि सर्फ पानीले भुई सफा गर्ने । यो विधिलाई वेट क्लिनिङ्ग (Wet cleaning) भनिन्छ ।
  7. सम्भव भएसम्म फ्लेम गन वा आगोको ज्वालाले खोरको सतह डढाउने । यो  विधिलाइ हिट ट्रीटमेन्ट (Heat treatment) भनिन्छ ।
  8. वासिङ्ग सोडा ४० ग्राम प्रति लिटर पानिको दरले छिट्ने । १००० वर्ग फिट क्षेत्रफलको लागि २ केजी वासिङ्ग सोडा र ५ लिटर पानि आवश्यक पर्दछ । कास्टिक सोडा २० ग्राम प्रति लिटर पानीको दरले छिट्ने । १००० वर्ग फिटक्षेत्रफलको लागि  १ केजी कास्टिक सोडा र ५ लिटर पानि आवश्यक पर्दछ । यो विधिलाई केमिकल ट्रीटमेन्ट (Chemical treatment) भनिन्छ । काष्टिक सोडा प्रयोग गर्दा हातमा पन्जा लगाएर मात्र प्रयोग गर्ने ।
  9. त्यसपछि किटनाशक औषधि (जस्तै, साइथिओन : ८ — १६ एमएल प्रति लिटर पानि) ले भुई र भित्तालाई छर्किने । कुखुरा हटाउने वित्तिकै र सोत्तर नहटाउदै पनि एकपटक किटनाशक औसधि छर्किनु उपयुक्त हुन्छ ।  
  10. ५ केजी चुना, १ लिटर मट्टीतेल, १ केजी निलोतुथो (कप्पर सल्फेट), १ केजी नुन, १ केजी ब्लिचिंग पाउडर र आधा लिटर फर्मालिन १०० लिटर पानीमा मिसाएर १००० वर्ग फिट खोर क्षेत्रफललाई  पोत्ने ।  यो विधिलाई ह्वाईट वाश (White wash) भनिन्छ ।
  11. २०० ग्राम पोटासियम परम्याग्नेट र ४०० एमएल फर्मालिन प्रति १००० क्युबिक फिटको दरले फुमिगेशन गर्ने । फुमिगेशन गर्दा निस्किने फर्मलिनको धुँवा आँखाले ठम्याउन नसकिने सानासाना चर र प्वालहरु समेतमा पुगेर जीवाणु र विषाणुलाई निस्तेज गर्ने काम गर्दछ । फुमिगेशनको बदलामा थर्मल फोगिंग गर्न पनि सकिन्छ । तर यो विधिको लागि थर्मल फोगर भन्ने यन्त्र चाहिन्छ जुन केहि महँगो छ । थर्मल फोगरबाट निस्किने निसंक्रमण झोलको कण फुमिगेशन धुँवा भन्दा पनि सानो हुन्छ । त्यसैले यो विधि फुमिगेशन विधि भन्दा पनि प्रभावकारी हुन्छ । अन्त्यमा  फुमिगेशन वा थर्मल फोगिंग गरेर खोरको निसंक्रमण गर्ने प्रक्रियालाई टर्मिनल डिसइन्फेक्शन (Terminal disinfection) भनिन्छ ।  
  12. टर्मिनल डिसइन्फेक्शन गरिसकेपछि खोरबाट नमुना लिएर ल्याब परिक्षण गरी संक्रामक जीवाणु (जस्तैः सालमोनेला) मुक्त भए—नभएको कुरा जानकारी लिन सकिन्छ । यसबाट खोर निसंक्रमण प्रकृया कत्तिको प्रभावकारी भयो भन्ने कुराको यकिन गर्न सकिन्छ । 
  13. फुमिगेसन वा थर्मल फोगिंग गर्न अगाडी खोरको पर्दाहरु राम्रोसँग बन्द गर्ने । २४ घण्टापश्चात पर्दा खोलेर कम्तिमा ७२ घण्टा खुला हावा वहन दिने (अर्थात चल्ला विना नै खुला छोड्ने) ।
  14. व्रोइलर तथा लोकल कुखुराको हकमा खोर तयार गरेपछि कम्तिमा ७ दिन खोर खालि राख्ने । अघिल्लो लटमा रोग संक्रमणको समस्या व्यापक भएको अवस्थामा खालि राख्ने  अवधि दोब्बर गर्ने । सम्भव भएसम्म २ हप्तासम्म खालि राख्नसके झनै राम्रो हुन्छ ।
  15. लेयर्स कुखुराको हकमा खोर तयार गरेपछि कम्तिमा १५ दिन खोर खालि राख्ने । अघिल्लो लटमा रोग संक्रमणको समस्या व्यापक भएको अवस्थामा खालि राख्ने अवधि दोब्बर गर्ने । सम्भव भएसम्म १ महिनासम्म खालि राख्नसके झनै राम्रो हुन्छ ।
  16. प्यारेन्ट कुखुराको हकमा खोर तयार गरेपछि कम्तिमा ३० दिन खोर खालि राख्ने । अघिल्लो लटमा रोग संक्रमणको समस्या व्यापक भएको अवस्थामा खालि राख्ने अवधि दोब्बर गर्ने ।
  17. भुष राखिसकेपछि चल्ला ल्याउन अगाडी भि–अक्स (V-Ox) वा वायो−बुस्टर प्लस (Bio-Buster Plus) जस्ता भाईरुसाईडल औषधि ५ ग्राम प्रति लिटर पानि प्रयोग गरेर खोरको भुई, भित्ता, सोत्तर, पर्दा आदि चारैतिर छर्किने ।
  18. भुइँ कच्ची भएको खोरको भुइँको माटो चारैतिर (सबैतिर) बाट २ इन्च गहिराई खनेर सो गहिराईमा भएको पुरानो माटो खोर भन्दा पर लगेर फाल्ने । अन्य श्रोतबाट फ्रेस माटो ल्याएर सो स्थानमा राख्न सकिन्छ । 

ब्रुडिङ तयारि 

  1. खोर सफा गरिसकेपछि ब्रुडिङ गर्ने ठाउँ निश्चित गर्ने ।
  2. घाममा सुकाइएको सोत्तर, निसंक्रमण गरेको दाना—पानीको भाडा, ब्रुडर र औषधिको व्यवस्था गर्ने ।
  3. कम्तिमा तिन इन्च वाक्लो हुने गरि भुईमा चारैतिर सोत्तर छर्ने ।
  4. सोत्तर माथि पत्रिका ओछ्याएर दाना—पानीका भाँडा र ब्रुडर राख्ने साथै वरिपरि १८ इन्च अग्लो ब्रुडर रिङ्ग (अथवा चिक गार्ड) राख्ने ।
  5. सुरुमै चल्लाले फिडरबाट दाना टिप्न असहज महशुस गर्नसक्छ । सुरुको अवस्थामा दाना खपत उचित भएन भने यसले पछिसम्म कुखुराको शारीरिक वृद्दि−विकासमा नकारात्मक असर पार्न सक्छ । तसर्थ सुरुको ४—५ दिन पत्रिका ओछ्याई पत्रिकामाथि दाना छारिदिनु उपयुक्त हुन्छ । 
  6. पत्रिकालाई ४—५ पत्र बनाएर ओछ्याउने ताकि प्रत्येक दिन माथिको फोहर पत्र मात्र निकालेर हटाउन सकियोस र तलका सफा पत्र सुरक्षित रहिरहोस । अन्यथा प्रत्येक पटक फोहर पत्रिका हटाएर सोहि ठाउँमा नयाँ राख्न अफ्ठ्यारो हुन्छ । ४—५ दिन पछि चल्लाले फिडरबाटै सहजै दाना खान सक्छन र पत्रिकाको आवश्यकता पर्दैन ।
  7. ब्रुडिङ गरिने चल्लाको संख्या र ब्रुडरको क्षमता अनुसार ब्रुडर संख्या निर्धारण गर्ने र ब्रुडिङ क्षेत्रफलमा झुन्ड्याएर राख्ने । बजारमा विभिन्न क्षमताको ब्रुडर पाइन्छ ।
  8. प्रति ४० चल्ला १ गोलो चिक्स फिडर र प्रति ४० चल्ला १ गोलो चिक्स ड्रिङकरको दरले दाना—पानीको भाँडाको व्यबस्थापन गर्ने ।  
  9. दानापानिको भाँडा कतै भिडभाड र कतै खालि नहुने गरी ब्रुडिङ क्षेत्रफलको चारैतिर समानुपातिक ढंगबाट फैलाएर राख्ने । दानाको भाँडा र पानीको भाँडा एकपछि अर्को (Alternate) प्रणालीमा राख्दा उपयुक्त हुन्छ ताकि फिडर मात्र एकातिर र ड्रिंकर मात्र अर्कोतिर नहोस ।    
  10. उपकरणले सहि काम गरे नगरेको जाँच गर्ने । गर्मि मौसममा चल्ला आइपुग्नु भन्दा २४ घण्टा अगाडी नै र जाडोयाममा ४८ घण्टा अगाडी नै ब्रुडर र बत्ति बालेर तापक्रम दिने (खोरको तापक्रम ३५ डिग्री सेन्टिग्रेड हुनुपर्ने) । खोरमा उपयुक्त तापक्रम कायम गर्न थर्मोमिटर राख्ने, निरन्तर तापक्रमको जाँच गर्दै आवश्यकता अनुरुप ब्रुडर तापक्रम घटाउने—बढाउने गर्ने ।
  11. साथै चल्ला आइपुग्नु अगाडी नै दाना—पानीका भाडाहरु भरेर तयारि अवस्थामा राख्ने ताकि चल्ला आइसकेपछि तयारि गर्न ढिला नहोस ।
  12. प्रकाशको लागि ब्रुडिङ कक्षमा पहेलो ज्योति दिने टङ्गसटेन बल्ब प्रयोग गरिने भए प्रति वर्गमिटरको लागि ४ वाट प्रकाशको चमक भए पुग्छ । अथवा, सेतो ज्योति दिने सीएफएल – ट्युब लाईट प्रयोग गरिने भए प्रति वर्गमिटरको लागि १ वाट प्रकाशको चमक भए पुग्छ ।
  13. निम्न तालिका अनुसार ब्रुडिङ क्षेत्रफल मिलाउने र क्रमश बढाउदै लैजाने । 

उमेर (हप्ता)            क्षेत्रफल (स्क्वायर फिट प्रति चल्ला)

१                             ०.२७

२                             ०.५४

३                             ०.७२

४                             ०.९८

चल्ला आइपुग्ने वित्तिकै निम्न अनुसार काम गर्ने

 चल्लालाई छिटो भन्दा छिटो ब्रुडिङ कक्षमा छोडिहाल्ने ।

  छोड्दाखेरि पानीको भाँडा नजिकै लगेर छोड्ने र पानि खान उत्प्रेरित गराउने । चल्लाको चुचो पानीमा डोबेर चल्लालाई पानि खान उत्प्रेरित गराउन सकिन्छ ।  कुखुरामा स्वास—प्रस्वास सम्बन्धि समस्या बढी देखिने स्थानमा चल्लाको सुरुको १ देखि २ घण्टाको पानीमा आई.बिए.च १२० भ्याक्सिन दिनु उपयुक्त हुन्छ ।  

  चल्लालाई ह्याचारिबाट खोरसम्म ल्याउँदा तनाव हुने हुँदा सुरुमा ३−४ घण्टा इलेक्ट्रोलाईट (Electrolyte) पानि मात्र खुवाउने ।

  पानि खान थालेको २—३ घण्टापछि मात्र दानाको भाँडा राखिदिने र ओछ्याइएको पत्रिकामा दाना छरिदिने । 

  सकेसम्म चिसो पानि नदीई उमालेर सेलाएको पानि दिनुपर्छ । गर्मि मौसममा पानि सफा गर्ने सानिटाइजर (Sanitizer) औषधि प्रयोग गर्ने । किनभने गर्मि याममा पानीमा ई कोलाई कस्ता हानिकारक जिवाणुको मात्रा वृद्दि भएको हुन्छ । तर पानीको माध्यामबाट भ्याक्सिन दिनुभन्दा ४८ घण्टा अगाडी र ४८ घण्टा पछाडी सम्म सानिटाइजर बन्द गर्ने ।

  संक्रामक जीवाणु रहित स्वस्थ आन्द्रा र पाचन नली विकाशको लागि सुरुको ३ देखि ५ दिन प्रोवायोटिक (Probiotic) दिने । संक्रमण मुक्त चल्ला भएको खण्डमा सुरुमै एन्टीवायोटिक खुवाउनु पर्दैन । प्रोवायोटिक भनेका शरीरलाई हानि नगर्ने प्रकृतिका जीवाणु हुन जसले पाचन नलीको ठाउँ ओगटीसकेपछि हानिकारक जीवाणुले संक्रमण गर्ने सम्भावना न्यूनीकरण भएर जान्छ । यसलाई प्रतिस्पर्धात्मक वहिस्करणको सिद्धान्त (Competitive exclusion) भनेर चिनिन्छ । 

  चल्लामा संक्रमण भएमा दर्तावाल भेटेरिनरी डाक्टरको राय–सल्लाह लियर मात्र एन्टीवायोटिक (Antibiotic) औसधि चलाउने । अन्यथा जथाभावी एन्टीवायोटिकको प्रयोग नगर्ने ।   

  पानीमा एसिडीफायर (Acidifier) राख्नु उपयुक्त हुन्छ । एसिडीफायरले पानी र पाचन नलीको पिएच मानलाई घटाई अम्लीय वातावरण स्थापना गर्दछ । अम्लीय वातावरणमा ई कोलाई, सालमोनेला जस्ता संक्रामक जीवाणु वृद्दि—विकास हुन   पाउदैन ।

  साथै तनाव कम गर्न र रोग प्रतिरोधात्मक शक्ति विकास गर्न मल्टिभिटामिन (Multivitamin ADEK/C) दिने ।

  कमजोर चल्लाहरुलाई छुट्याएर अलग्गै ब्रुडिङ गर्दा उपयुक्त हुन्छ । 

  खोरमा निम्न अनुसार ब्रुडिङ तापक्रम कायम गर्ने । खोरमा उपयुक्त तापक्रम कायम गर्न थर्मोमिटर राख्ने, निरन्तर तापक्रमको जाँच गर्दै आवश्यकता अनुरुप ब्रुडर तापक्रम घटाउने—बढाउने गर्ने ।

उमेर (दिन/हप्ता)    तापक्रम (डिग्री फरेनहाईट)

०—२ दिन  ………………९५

३—४ दिन  ………………९४

५—७ दिन  ……………. ९२

२ हप्ता   ………………..  ९०

३ हप्ता    ………………   ८५

४ हप्ता    …………….     ८०

५ हप्ता     ………………. ७५

६ हप्ता      ………………. ७०

नोट :—

  ब्रुडिङ अवस्थामा खोरको तापक्रम मिलाउदा अनुमानको भरमा नगरिकन अनिवार्य रुपमा थर्मोमिटरको प्रयोग गर्नुपर्दछ । थर्मोमिटरलाई ब्रुडिङ क्षेत्रफलमा भुई भन्दा २ इन्च माथि झुन्ड्याउने । 

  ब्रुडरको सिधै तल दानापानीको भाँडा राख्नु हुदैन ।

  कुखुराको जीवन चक्रमा सबैभन्दा संवेदनशील अवस्था हो – ब्रुडिङ अवस्था । यो अवस्थामा हुने गल्ति एवं कमि—कमजोरीले अन्त्यमा प्राप्त गरिने उत्पादनमा ह्रास ल्याउँछ ।

  ब्रुडिङ समयमा तापक्रम एवं दानापानी लगायतका अन्य व्यवस्थापन ठिक भए नभएको कुरा एक हप्ता पछीको चल्लाको तौल बाट थाहा पाउन सकिन्छ । सामान्यतया व्रोइलरको हकमा एक हप्ताको अन्त्यमा चल्लाको तौल एक दिन (ह्याच डे) को तौल भन्दा चार गुणा बढी हुनुपर्छ (कब ५०० को १८४ ग्राम) । त्यस्तै लेयर्स चल्लाको तौल १ हप्ताको अन्त्यमा ७०−७५ ग्राम हुनुपर्छ । सो अनुसार तौल प्राप्त नभए ब्रुडिङ व्यवस्थापनमा कमजोरी भएको भन्ने बुझिन्छ । लोकल कुखुराको हकमा सो तौल कम्तिमा पनि ७० ग्राम हुनुपर्दछ ।

ब्रुडिङ खोरको तापक्रम ठिक भए नभएको पत्ता लगाउने तरिका

१) चल्लाहरु बराबर रुपले खोरको चारैतिर फैलिएर बसेका छन भने तापक्रम ठिक छ भन्ने बुझिन्छ ।

२) चल्लाहरु ब्रुडर भन्दा टाढा भित्तापट्टी भिड गरेर बसेका छन भने तापक्रम बढी भएको बुझिन्छ । यस्तो अवस्था आए ब्रुडरको तापक्रम घटाउनु पर्दछ ।

३) चल्लाहरु ब्रुडरको नजिकै एकैठाउँमा थुप्रिएर बसेका छन भने तापक्रम कम भएको भन्ने बुझिन्छ । यस्तो अवस्था आए ब्रुडरको तापक्रम बढाउनुपर्दछ ।

अन्य संकेतहरु

  दाना पानिको भाडामा भिड देखिएमा भाँडाहरु कम भएको भन्ने बुझिन्छ ।

  सोत्तर ओसिलो वा भिजेको देखेमा पानी राम्रोसँग नराखेको वा भेन्टिलेसन सुधार्नुपर्ने वा सोत्तर फेर्नु पर्ने भन्ने बुझिन्छ ।

  खोरमा गन्ध बढी भएमा भेन्टीलेसन सुधार गरी दुई किलो चुना र आधा किलो सुपरफस्फेट १०० बर्ग मिटरलाई आधा किलोको दरले छरेमा ग्यास निस्कन कम हुन्छ । खोरभित्र उत्पादन हुने एमोनिया ग्याँसलाई न्यूनीकरण गर्न एमोनिया अक्सिडाइजर रसायन भएका औसधि जस्तैः एमोब्लास्ट (Ammoblast), केनोलिट, एमोचेक (Ammocheck),  आदि प्रयोग गर्न सकिन्छ ।

अन्त्यमा

प्रचलित भनाई नै छ, राम्रो सुरुवात गर्नु भनेको आधा काम सक्नु जस्तै हो । यो कुरा कुखुरापालन व्यवसायमा पनि लागु हुन्छ । सुरुको ब्रुडिङ अवस्था कुखुरापालनको लागि सबैभन्दा चुनौतिपूर्ण अवस्था हो  । माथि उल्लेख गरेजस्तै गरी खोरमा नयाँ चल्ला ल्याउनु अगाडि देखि नै आवश्यक तारतम्य मिलाएर ब्रुडिङ अवस्थामा राम्रो प्रबन्ध मिलाउन सकेको खण्डमा व्यवसायिक मुनाफाको लागि जग बलियो बनाउन सकिन्छ ।  

Share Post
  •  
  •  
  •  


Leave a Reply

Your email address will not be published. Required fields are marked *