दाङको पहिचान : बदिया भाले ! बदिया भालेको लागि : NLPRC !!

-February 24, 2020

सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु नपर्ने भएको हो ।

नोबेल लाइभस्टक प्रोडक्शन एण्ड रिसर्च सेन्टर (NLPRC) को सम्पर्क साखा दाङमा कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालिएको छ । कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास नेपालको अन्य जिल्लाहरुको लागि नयाँ भएपनि दाङ जिल्लाको लागि नौलो भने होइन । दाङको थारु समुदायमा लोकल कुखुराको भालेलाई बन्ध्याकरण गर्ने प्रचलन पहिले देखि नै चलिआएको हो । दाङको मौलिक उत्पादनको रुपमा स्थापित हुँदै गएपछि अन्यत्रबाट दाङ आएका पर्यटकले बदिया भाले खान चाहने र बिस्तारै काठमान्डौ, नेपालगंज, बुटवल, पोखरा र चितवन जस्ता ठाउँहरु बाट समेत बदिया भालेको माग आउन थालेपछि हाल आएर केहि कृषकहरुले व्यवसायिक रुपमा नै बदिया भालेको उत्पादन थालेका छन् । भालेको शल्यक्रिया गरी अण्डकोष निकालेपछि भालेको शिर पोथीको जस्तो हुने र बास्ने भालेको अण्डकोष निकाल्दा बास्न छाड्ने गर्दछ । भालेको बन्ध्याकरण गर्दा मासुको उत्पादन पनि बढी हुने गर्दछ ।

नेपाली समाजमा मानिस प्रायः कम सन्तानका लागि परिवार नियोजन गर्न रुचाउँछन् । तर पछिल्ला वर्षमा अनुसन्धानका लागि कुकुरलाई तीनमहिने सुईको प्रयोग र बन्ध्याकरण गरिएको पाइए पनि अहिले कुखुरामा भने नौलो मानिएको हो । ग्रामीण क्षेत्रमा गोरु, बोका, सुँगुर र बङ्गुरको अण्डकोष निकाल्ने चलन रहिआएको बूढापाकाहरु बताउँछन् । अण्डकोष निकाल्दा यौन क्षमता कमजोर भई शान्त स्वभावको बढी हुने हुँदा मासुको उत्पादन बढी हुने जानकारहरु बताउँछन् ।

बन्ध्याकरण गरिसकेपछि भालेको उत्पादकत्व बढेर जाने हुँदा भालेलाई जातिसक्दो सानो उमेरमा बन्ध्याकरण गर्यो त्यति नै कृषकलाई फाइदाजनक हुने देखिन्छ । यद्यपि सानो उमेरमा भालेको अन्डकोष पनि सानो हुने, त्यसलाई पत्ता लगाई समाएर चुडाउन वा काट्न पनि अफ्ठ्यारो हुने हुँदा सामान्यतया भाले बास्ने उमेर भएपछी मात्र त्यसलाई बन्ध्याकरण गर्ने प्रचलन चलि आएको हो । अन्डकोष सानो भई चुडाउन गाह्रो भएको बेला जबरजस्ती बदिया बनाउन खोज्दा कतिपय अवस्थामा भालेको ज्यानै जानसक्ने पनि हुनसक्छ । व्यवस्थित र आधिनिक भाले बन्ध्याकरण उपकरण पाइने मुलुकहरुमा आठ-नौ हप्ताको सानो उमेरमा समेत बन्ध्याकरण गरेर कृषकहरुले मनग्ये आम्दानि लिने गरेको पाइन्छ । तर उचित किसिमको उपकरणको अभावमा नेपालमा यो सम्भव हुनसकेको छैन । बदिया गरेपछि भालेको यौन चाहना र सक्रियता कम हुन्छ जसले गर्दा पनि वजन ग्रहण गर्न सघाउ पुर्याउँछ । भाले बास्न सुरु गर्ने उमेर भनेको ४.५ देखि ५ महिनाको समय हो । त्यस बेला बदिया गरेपछि कम्तिमा ३ देखि ६ महिना थप पालेपछि मात्र मासुको लागि काटेर खाने वा किनबेच गर्ने गरिन्छ । बदिया गरेको भालेको मासुको स्वाद पनि बदिया नगरेको भालेको भन्दा नरम, रसिलो र स्वादिलो हुने गरेको भन्ने अनुभव कुखुराको मासुको पारखीहरुले सुनाउने गरेको पाइन्छ । त्यसैले त होला सामान्यतया ६ – ७ सय रुपैया प्रति किलोमा किनबेच हुने लोकल भाले बदिया गरेपछि रु. ३,००० – ३,५०० सम्म किनबेच हुने गरेको पाइन्छ ।

सुन्दा रमाइलो लागेपनि बदिया भाले निरन्तर उत्पादन गर्ने कार्य सजिलो भने छैन । स्थानीय जातका कुखुरालाई मात्र बदिया बनाउने गरिन्छ । दिनानुदिन द्रुततर गतिमा बढ्दै गैरहेको जनसंख्याको प्रोटिन आवश्यकता पूर्ति गर्न छिटो वृद्दि हुने ब्रोइलर तथा धेरै उत्पादन दिने लेयर्स कुखुराको अत्यधिक उत्पादनमा केन्द्रित भएको अहिलेको युगमा स्थानीय जातको कुखुराको चल्ला पाउन सजिलो छैन । भाले कुखुरालाई मात्र बन्ध्याकरण गरेर बदिया बनाइने हुँदा, बदिया व्यवसाय गर्ने किसानलाई हुर्किएका पोथी कुखुरा व्यवस्थापन चुनौतिपूर्ण हुने गरेको छ – किनकि सुरुमा कृषकले चल्ला खरिद गर्दा त्यसमा भाले र पोथी दुवै हुन्छन । एक दक्ष एवं निपुण प्राविधिकलाई समेत बदिया एउटा भाले गराउँन करिब ८ देखि १२ मिनेट समय लाग्ने गर्दछ । विभिन्न उमेरका भाले जम्मा गरेर विभिन्न समयमा बदिया बनाउने कुरा निकै झन्झटिलो हुन्छ बजारीकरण र कुखुरा व्यवस्थापनको दृष्टिकोणले । एकै समयमा एकै उमेरका धेरै कुखुरा बदिया गराउँन सके किसानलाई बजारीकरणको लागि सहज हुन्छ । तर एकै पटकमा बदिया बनाउन खोज्दा पनि बन्ध्याकरण एउटा जटिल शल्यक्रियाको कार्य भएकाले दिनमै सयौँको संख्यामा बदिया बनाउन असम्भवप्राय नै हुन्छ, हजारौँको त कुरै छाडौँ । त्यसले गर्दा ठुलो परिमाणमा बदिया व्यवसायलाई कमर्सियलाईज गर्न निकै चुनौतीपूर्ण छ । यिनै विविध कारण र चुनौतीले गर्दा कुनैपनि किसानलाई वर्षभरि नै बदिया निरन्तर उत्पादन गर्ने र बजारमा सप्लाई गर्ने कुरा निकै गाह्रो छ ।

नोबेल लाइभस्टक प्रोडक्शन एण्ड रिसर्च सेन्टर (NLPRC) आफैमा एक स्थानीय जातको चल्ला उत्पादन गर्ने ह्याचरी कम्पनि भएको हुनाले यसलाई चल्ला उपलब्धताको कुनै समस्या रहँदैन । नेपाल सरकार पशुपन्क्षि बजार प्रवर्धन निर्देशनालयसँगको सहकार्यमा ले “स्थानीय ग्रामिण कुखुराको ह्याचरी” परियोजना संचालन गरिरहेको छ । NLPRC ले कृषि विकास बैंकको आर्थिक सहयोगमा नवलपरासी तथा दाङ स्थित आफ्नै कमर्सियल फार्ममा विभिन्न लट गर्दै प्रत्येक महिना प्रत्येक महिना नयाँ लट चल्ला ब्रुडिंग गर्ने र प्रत्येक महिना नयाँ लट तयारि लोकल कुखुरा बजारमा निकाल्ने गरेको छ । सो क्रममा प्रत्येक महिना बजार माग अनुसार केहि भालेलाई छुट्याएर बदिया बनाउने गरेको छ । यसरी NLPRC मा प्रत्येक महिना नयाँ लट तयारि लोकल कुखुराको साथै नयाँ लट बदिया भाले समेत उत्पादन हुने गरेको छ ।

NLPRC मा उत्पादन भएका बदिया भाले प्रदेश नम्बर ५ अन्तर्गतका ठाउँहरु तुलसीपुर, नारायणपुर, घोराही, लमही, भालुवाङ्ग, धानखोला, कपिलवस्तु, रुपन्देही, नवलपरासी र दाउन्नेमा बिक्रि-वितरण भैरहेका छन् र विस्तारै केहि परिमाणमा काठमान्डौ उपत्यकाबाट समेत NLPRC मा बदिया भालेको माग आउन थालेको छ । यदी हजुरलाई समेत बदिया भाले चाहिएको छ भने मागको लागि यो लिंकमा क्लिक गर्नुहोस र दिइएको स्थान, इमेल ठेगाना वा नम्बरमा सम्पर्क गर्नुहोस । होटल तथा रेस्टुरेन्टको लागि विशेष छुटको व्यवस्था गरिएको छ ।

NLPRC, दाङमा भर्खरै बास्न लागेको लोकल भालेलाई शल्यक्रिया विधिबाट बदिया बनाइदै
Share Post
  •  
  •  
  •  


Leave a Reply

Your email address will not be published. Required fields are marked *